चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
बाग्लुङ | मंसिर १०, २०८१
ढोरपाटन: चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन् । ढोरपाटन नगरपालिका–९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी पर्न थालेका हुन् । विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको छ ।
उच्च पहाडी क्षेत्रमा पर्ने ढोरपाटनमा बिहानमा तुसारो पर्ने र दिउँसोमा चिसो सिरेटो चल्दा बालबालिका बिरामी पर्ने गरेको ज्योति विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले बताउनुभयो ।
विद्यार्थीलाई ज्वरो, रुघाखोकीसहित निमोनिया देखिँदा पढाइ प्रभावित भएको उहाँको भनाइ छ । जाडो याममा ढोरपाटनमा हिउँदमा विद्यालय बन्द हुने गर्छ ।
पुस महिना भरि पठनपाठन गर्ने योजना बनाए पनि चिसोका कारण छिट्टै विद्यालय बन्द गर्ने स्थिति देखिएको अदैले बताउनुभयो । कक्षा ९ र १० का लागि बिहान सञ्चालित ट्युसन कक्षामा विद्यार्थीहरु कठ्याङ्ग्रिएर पढ्न नसक्ने अवस्था भएको उहाँको भनाइ छ ।
विद्यालयमा ‘हिटर’को व्यवस्थापन नहुँदा बालबालिकालाई चिसोबाट जोगाउन समस्या भएको छ ।
“ बिहान तुसारोले खेलमैदान पुरिएको हुन्छ, बिहान १० बजे घाम लाग्ने हुँदा समयमै पठनपाठन सुरु गर्छौँ, साँझ ३ः३० बजेनै छुट्टी गर्छौँ”, उहाँले भन्नुभयो । ढोरपाटनका अधिकांश हुने खाने वर्गले छोराछोरी पोखरा, काठमाडौँलगायतका ठाउँमा पढाउने गरेका छन् ।
ढोरपाटन उपत्यका क्षेत्रमा ज्योति विकास माध्यमिक विद्यालय, सिद्धबराह प्राथमिक विद्यालय, सहलथान प्राथमिक विद्यालय, बाल ज्योति प्राथमिक विद्यालय, ढोरपाटन दुर्गम प्राथमिक विद्यालय र ढोरबहारा प्राथमिक विद्यालय सञ्चालनमा छन् । यी विद्यालय चिसोका कारण हरेक वर्ष पुस दोस्रो सातादेखि बन्द हुने गर्छन् ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

